काठमाडौँ — नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना एवम् चितवन मेडिकल कलेज (सिएमसी) को सहयोगमा जिल्लामा क्रियाशिल महिला पत्रकाहरुको स्तन क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ ।
महिला पत्रकारहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्ने कार्यक्रमबाट जिल्लाका ३६ जना महिला पत्रकार लाभान्वित भएको महासंघ चितवन शाखाको उपाध्यक्ष एवम् महिला विभाग प्रमुख शान्ता अधिकारीले जानकारी दिइन् । केही पत्रकारको आवश्यकताअनुसार स्तन क्यान्सर परीक्षणका लागि मेमोग्रामसमेत गरिएको उनले बताइन् ।
स्तन क्यान्सरको उपचार गर्न शल्यक्रिया गर्नुपरे सिएमसीले ५० प्रतिशत छुट दिने घोषणासमेत गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सकहरुले स्तन क्यान्सरको कारण, लक्षण र बच्ने उपायबारे जानकारी दिएका थिए ।
अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना फैलाउने महिनाको रुपमा मनाउने क्रममा महिला पत्रकारहरुको निःशुल्क स्तन क्यान्सर परीक्षण गरिएको सीएमसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप देवकोटाले बताए ।
समयमै परीक्षण नगराउँदा नेपालमा धेरै क्यान्सर देखिनेमा स्तन क्यान्सर दोस्रो नम्बरमा आएको छ । स्तन क्यान्सरको स्क्रिनिङ गर्नुपर्छ भन्ने सोच बढ्दै जाँदा विरामीको संख्या पनि थपिँदै गएको उनको भनाइ छ ।
