भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रेसमैत्री नीति र बजेट निर्माणका लागि जिल्लाका सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ ।
महासंघको बुधबार सम्पन्न कार्यसमिति बैठकले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि नीति तथा बजेट निर्माण गर्दा स्थानीय सञ्चारमाध्यमहरुलाई प्राथमिकतामा राख्नसमेत आग्रह गरेको छ ।
महासंघका जिल्ला अध्यक्ष वसन्त पराजुलीले पालिकाले विज्ञापन प्रकाशित/प्रसारित गर्दा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकतामा राख्न आग्रह गरिएको बताए । सञ्चार क्षेत्रमा देखिएको संकट र पत्रकार पलायनको अवस्था न्यूनीकरणका लागि प्रेसमैत्री बजेट निर्माण गर्नुपर्ने उनले बताए ।
साथै, महासंघको बैठकले पत्रकारको स्वास्थ्य तथा वृत्तिविकासका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ ।
अक्षयकोषमा सहयोग गर्न चाहनेहरुका लागि महासंघले आह्वान गरेको पराजुलीले बताए । बैठकमा सल्लाहकार नारायणप्रसाद अधिकारी, राधेश्याम खतिवडा र प्रकाशमणि ज्ञवालीले कोषले पत्रकारको स्थायित्वका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनीहरुले पत्रकारको सुरक्षाका लागि महासंघ अग्रपङ्क्तिमा उभिएर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
