भरतपुर, ३० भदौ
पत्रकारहरुको दूर्घटना बीमाको काम अन्तिम चरणमा पुगेको र यसलाई आगामी कात्तिक १ गतेबाटै लागु गरिने सूचना विभागका महानिर्देशक लक्ष्मीविलाश कोइरालाले जानकारी दिएका छन् । भदौ मसान्तभित्र सूचना विभागबाट जारी गरिएको परिचयपत्रलाई आधार मानि पहिलो चरणमा पत्रकारहरुलाई बीमामा सहभागि गराइने कोइरालाले बताए ।
नेपाल पत्रकार महासंघ, चितवनले बुधबार महासंघको कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुको बीमाबारे जानकारी दिँदै उनले भने–‘ बीमामा सहभागि हुन पत्रकार महासंघको सदस्यता र सूचना विभागबाट जारी गरिएको प्रेस पास अद्यावधिक गरेको हुनुपर्नेछ ।’
सूचना विभागले जारी गर्ने परिचयपत्र व्यवस्थित गर्न हरेक सञ्चारमाध्यममा कार्यरत श्रमजीवि पत्रकार र कर्मचारीहरुको अद्यावधिक विवरण विभागले संकलन गरिरहेको कोइरालाले बताए । सञ्चारमाध्यमले दिएको विवरणसँगै पत्रकारको नियुक्ति पत्र र सम्बन्धित सञ्चारमाध्यमको सिफारिसका आधारमा विभागबाट परिचय पत्र दिने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए । कतिपय सञ्चारमाध्यमले विवरण नपठाउने र पत्रकारलाई नियुक्ति पत्र दिन आनाकानी गरिरहेको गुनासो आएको हुँदा त्यस्ता सञ्चारमाध्यमलाई विभागले दिने सुविधाबाट वञ्चित गराउन समेत सकिने महानिर्देशक कोइरालाको भनाइ थियो ।
पत्रकारहरुलाई बीमा प्रकृयामा सहभागि हुन कोइरालाको विशेष आग्रह थियो । सूचना विभागले बीमा कम्पनिमार्फत प्रतिव्यक्ति तीन सय ३९ रुपैंयाँ तिरेर ५ लाख रुपैंयाँ बराबरको दुर्घटना बीमा र दुई लाख रुपैंयाँ बराबरको औषधि उपचार खर्च उपलव्ध हुने गरी बीमा गराउने तयारी गरेको पनि उनले बताए । जसमध्ये विभागले ७५ प्रतिशत र पत्रकार महासंघले २५ प्रतिशत खर्च बेहोर्ने सहमति भएको उनको भनाई छ ।
अनलाइनमा आधारित सञ्चारमाध्यलाई व्यवस्थित गर्न विभागले अनलाइनको स्वीकृति दिएको र यसलाई प्रेस काउन्सिलले समेत सूचीकृत गरिरहेको कोइरालाले जानकारी दिए । विभागबाट जारी हुने परिचय पत्र अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई समेत वितरण गरिएको समेत उनले बताए ।
पत्रकार आचारसंहिता बमोजिम अनलाइनलाई व्यवस्थित गर्न पत्रकार महासंघको सहयोगमा प्रेस काउन्सिलले नियमनको व्यवस्था गरिरहेको पनि कोइरालाले बताए । यथाशिघ्र अनलाईन सञ्चारमाध्यमलाई दर्ता गर्न कार्यविधि बनिरहेको पनि उनले जानकारी दिए । केही अनलाइनले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको गुनासो सुनिएको भन्दै दर्तासँगै आचारसंहिता आकर्षित हुने हुँदा समस्या समाधान भएर जाने पनि उनले विश्वास व्यक्त गरे । कोइरालाले सूचना विभागले अनलाइन पत्रिकाहरुको समेत अनुगमन गरिरहेको बताए ।
नेपाल पत्रकार महासंघ चितवन शाखाको निर्माणाधिन भवन निरिक्षण गर्दै महानिर्देशक कोइरालाले यसलाई समयमै सकेर सुदृढ संस्थाको रुपमा उपयोग गर्न अनुरोध समेत गरे । चितवन शाखाले स्थापना गर्न लागेको ‘सूचना केन्द्र’ का लागि सार्क सूचना केन्द्र र सञ्चार मन्त्रालयबाट समेत आवश्यक पुस्तकहरु खरिद गर्न सहयोग गर्नेे उनले प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले चितवनको पत्रकारिताको पछिल्लो अवस्थाबारे महानिर्देशक कोइरालालाई जानकारी गराएका थिए । सबै पत्रकारहरुलाई बीमामा सहभागि गराउन महासंघले सञ्चारमाध्यमबाट श्रमजीवि पत्रकारको विवरण माग गर्दै उनीहरुलाई नियुक्ति पत्र दिएर मात्रै काममा लगाउन अनुरोध गरेको बताए ।
अन्तरक्रिया कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवम् सल्लाहकार कृष्ण गिरी, उपाध्यक्ष दिपेन्द्र बडुवाल, सचिव कृष्णचन्द्र भट्टराई, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, जिल्ला अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी नेपालका नारायणी अञ्चल अध्यक्ष तिलकराम रिमाल, जिल्ला अध्यक्ष तीर्थ नेपाल, महासंघका पार्षद् नारायण ढुगाना, सन्तकुमार चौधरीलगायतले सूचना विभागबाट पत्रकारहरुलाई दिइने सेवा सुविधाका बारेमा जिज्ञासा राखेका थिए ।
सूचना विभागको परिचय पत्र बनाउन र नवीकरण गर्न काठमाडौँसम्म जानुपर्ने बाध्यात्मक व्यवस्थाले पत्रकारहरुलाई असहज स्थिति उत्पन्न भएकाले यसलाई महासंघको समन्वयमा परिचय पत्र जारी गर्नुपर्ने व्यवस्था मिलाइदिन उनीहरुको अनुरोध थियो । जवाफमा महानिर्देशक कोइरालाले आगामी मंसिरबाट अनलाइनबाटै परिचय पत्र बनाउने र नवीकरण गर्ने तयारी भइरहेको समेत जानकारी दिए । कार्यक्रम शाखा अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।


